सुदूरपश्चिम प्रदेश सरकार गठन भएको करिब ५५ दिन पुग्दा पनि बजेट नआएकोमा नेपाली कांग्रेस संसदीय दलले आपत्ति जनाएको छ। दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले आज विज्ञप्ति जारी गर्दै बजेट शून्यताले नियमित गतिविधि, विकास निर्माण, अत्यावश्यक सेवा र कर्मचारीको तलबभत्तामा समेत समस्या ल्याएको बताए। कार्यव्यवस्था परामर्श समितिले असोज २१ गते बजेट प्रस्तुत गर्ने निर्णय गरे पनि सरकारले त्यो पूरा गर्न सकेन भन्ने उनको आरोप छ। सर्वोच्च अदालतले बजेटसम्बन्धी विषयमा असोज २३ गते दुवै पक्षसँग छलफलको पेसी तोकेकाले आदेश नआएसम्म प्रक्रिया अघि नबढाउनु उपयुक्त हुने कांग्रेसको भनाइ छ। प्रदेशसभा चलिरहेका बेला सदनलाई छलेर अध्यादेशमार्फत बजेट ल्याउने चर्चा भइरहेको भन्दै कांग्रेसले यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ। रातोपाटीका अनुसार प्रदेशसभा बैठक शनिबारसम्मका लागि स्थगित भएको छ।