जुम्लामा आज सार्वजनिक बिदा छ। कर्णाली प्रदेश सरकारले चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेलाको अवसरमा असोज २२ गते यो बिदा दिने निर्णय गरेको थियो। प्रदेश सरकारका प्रवक्ता तथा मन्त्री विनोदकुमार शाहका अनुसार यो बिदा जुम्ला जिल्लाका लागि मात्र हो। २०८३ सालका लागि कर्णाली सरकारले थप ६ दिन सार्वजनिक बिदा तोकेको थियो, जसमध्ये यो पनि एक हो। बाँकी बिदामा चैत १२ गते धान दिवस, साउन १ गते साउने संक्रान्ति र देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस र कात्तिक ८ गते कोजाग्रत पूर्णिमा पर्छन्। असार १५ को राष्ट्रिय धान दिवसमा भने जुम्लाबाहेक अन्य ९ जिल्लामा बिदा दिइएको छ।