हेटौंडा–९: बिरामी हुँदा पैसा खोज्नु नपर्ने वडा
यहाँ दीर्घरोगीले औषधि किन्नुपर्दैन र स्वास्थ्य परीक्षण शुल्क लाग्दैन।
Pratik Devkota१ घण्टा अगाडिbagmati

बिरामी पर्दा उपचार खर्च जुटाउनु धेरै परिवारका लागि ठूलो चुनौती बन्ने गरेको छ । विशेषगरी लामो समयसम्म औषधि सेवन गर्नुपर्ने दीर्घरोगका बिरामीलाई नियमित उपचारको खर्च धान्न कठिन हुने गर्छ । तर हेटौंडा उपमहानगरपालिका–९ का स्थानीयका लागि भने स्वास्थ्य उपचारमा हुने आर्थिक बोझ केही हदसम्म कम भएको छ ।
वडाले सञ्चालन गरेको स्वास्थ्य कार्यक्रमअन्तर्गत स्थानीयले आधारभूत स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श र आवश्यक औषधि निःशुल्क प्राप्त गर्दै आएका छन् । दीर्घरोग भएका बिरामीलाई नियमित औषधि उपलब्ध गराउनेदेखि घरमै पुगेर स्वास्थ्य सेवा दिने व्यवस्थासमेत गरिएको छ ।
लामसुरे आधारभूत स्वास्थ्य केन्द्रमार्फत दैनिक करिब ४० देखि ५० जना बिरामीले स्वास्थ्य सेवा लिने गरेका छन् । केन्द्रका अनुसार पछिल्लो साढे चार वर्षको अवधिमा करिब १३ हजार नागरिकले निःशुल्क उपचार तथा औषधि सेवा लिएका छन् ।
सरकारबाट उपलब्ध हुने औषधिसँगै वडाले आफ्नै बजेटबाट समेत आवश्यक औषधि खरिद गर्दै आएको छ । हाल स्वास्थ्य केन्द्रबाट करिब १८० प्रकारका औषधि उपलब्ध हुने बताइएको छ ।
उच्च रक्तचाप, मधुमेह, मुटुसम्बन्धी समस्या, मानसिक स्वास्थ्य समस्या, थाइराइड, गठिया तथा कोलेस्ट्रोलजस्ता दीर्घरोगका बिरामीले नियमित रूपमा सेवा पाइरहेका छन् । प्रोस्टेट तथा श्वासप्रश्वाससम्बन्धी समस्याका लागि आवश्यक केही महँगा औषधि पनि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा बढ्दो लगानी
वडाले २०७९ सालबाट स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै कार्यक्रम सुरु गरेको हो । पहिलो वर्ष स्वास्थ्य सेवाका लागि ५ लाख रुपैयाँ छुट्याइएको थियो । त्यसपछि बजेट क्रमशः बढाउँदै लगिएको छ ।
अर्को वर्ष १० लाख रुपैयाँ विनियोजन गरिएकोमा पछिल्लो समय स्वास्थ्य कार्यक्रमका लागि २० लाख रुपैयाँसम्म बजेट छुट्याइएको छ । प्रदेश सरकारबाट समेत स्वास्थ्यसम्बन्धी पूर्वाधार र उपकरणका लागि सहयोग प्राप्त भएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयबाट १० लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । उक्त रकम स्वास्थ्य उपकरण खरिदमा प्रयोग गरिएको थियो । चालु आर्थिक वर्षमा पनि सोही बराबरको रकम विनियोजन गरिएको बताइएको छ ।
स्थानीय तहको प्रयासमा निजी क्षेत्रबाट समेत सहयोग प्राप्त भएको छ । स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्राप्त आर्थिक सहयोगबाट मातृ स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरण खरिद गरिएको छ ।
वडाले हेटौंडा–९ मै रहेको मानव सेवा आश्रमलाई पनि हरेक वर्ष आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । आश्रममा रहेका ज्येष्ठ नागरिक तथा अन्य आश्रित व्यक्तिको औषधि र स्वास्थ्य उपचारमा उक्त सहयोग प्रयोग हुने गरेको छ ।
स्वास्थ्य सेवा घरमै पुग्छ
स्वास्थ्य केन्द्रसम्म पुग्न नसक्ने नागरिकलाई लक्षित गर्दै वडाले घरमै स्वास्थ्य सेवा पुर्याउने व्यवस्था पनि गरेको छ ।
ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दीर्घरोगी तथा स्वास्थ्य केन्द्रसम्म आउन कठिन हुने बिरामीको घरमै पुगेर स्वास्थ्यकर्मीले आवश्यक स्वास्थ्य सेवा दिने गरेका छन् । अक्सिजन आवश्यक पर्ने बिरामीलाई समेत घरमै सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको समेत सहयोग लिइएको छ । उनीहरूले स्थानीय परिवारसँग समन्वय गरी आवश्यक स्वास्थ्य सेवाका लागि सहजीकरण गर्दै आएका छन् ।
स्वास्थ्य केन्द्रमा विभिन्न तहका स्वास्थ्यकर्मी कार्यरत छन् । प्रयोगशाला सेवाका लागि समेत कर्मचारीको व्यवस्था गरिएको छ । यसबाहेक वडाका विभिन्न स्थानमा महिनामा दुईपटक सामुदायिक स्वास्थ्य क्लिनिकसमेत सञ्चालन हुँदै आएको छ ।
स्थानीय स्वास्थ्य समस्याका आधारमा कार्यक्रम
स्वास्थ्य कार्यक्रम विस्तार गर्नु अघि वडाले स्थानीयस्तरमा स्वास्थ्य अवस्थाबारे अध्ययनसमेत गरेको थियो । २०७९ सालमा गरिएको घरधुरी सर्वेक्षणमार्फत स्थानीयमा देखिएका प्रमुख स्वास्थ्य समस्या पहिचान गरिएको थियो ।
वडाका विभिन्न समुदाय विकास संस्थामार्फत संकलन गरिएको तथ्यांकले उच्च रक्तचाप र मधुमेहजस्ता नसर्ने रोगको समस्या उल्लेख्य रहेको देखाएको थियो । सोही आधारमा दीर्घरोगीलाई आवश्यक औषधि तथा उपचार सेवा उपलब्ध गराउने कार्यक्रमलाई प्राथमिकता दिइएको हो ।
स्वास्थ्य केन्द्रले विभिन्न रोगका बिरामीको विवरणसमेत राख्दै आएको छ । यसबाट नियमित उपचार आवश्यक पर्ने बिरामीको अवस्था र स्वास्थ्य सेवाको आवश्यकतालाई पहिचान गर्न सहज भएको छ ।
क्यान्सरका कारण स्थानीयको मृत्यु हुने क्रमसमेत देखिएपछि वडाले रोगको उपचारसँगै रोकथाम र स्वास्थ्य सचेतनालाई पनि प्राथमिकता दिन थालेको छ ।
गाउँमै विशेषज्ञ चिकित्सकको सेवा
स्थानीयलाई सामान्य उपचारका लागि मात्र नभई विशेषज्ञ स्वास्थ्य सेवा लिन टाढा जान नपरोस् भन्ने उद्देश्यले वडाले विशेषज्ञ चिकित्सकको सेवा पनि उपलब्ध गराउन थालेको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा स्वास्थ्य केन्द्रमा महिनामा दुईपटक विशेषज्ञ चिकित्सक आउने व्यवस्था गरिएको छ । महिलासम्बन्धी स्वास्थ्य समस्या तथा रेडियोलोजी सेवाका लागि पनि विशेषज्ञको परामर्श उपलब्ध हुने गरेको छ ।
यसले स्थानीयलाई विशेषज्ञ चिकित्सकसँग परामर्श लिन हेटौंडाका अन्य स्वास्थ्य संस्थामा धाउनुपर्ने बाध्यता केही हदसम्म कम गरेको छ ।
स्वास्थ्य केन्द्रमा प्रयोगशाला सेवासमेत सञ्चालनमा रहेको छ । करिब २० प्रकारका स्वास्थ्य परीक्षण स्थानीयले निःशुल्क रूपमा गराउन सक्ने व्यवस्था गरिएको छ ।
हेटौंडा–९ को यो पहलले स्थानीय तहले आफ्नो क्षेत्रका नागरिकको स्वास्थ्य आवश्यकता पहिचान गरी त्यसअनुसार बजेट, जनशक्ति र संस्थागत सहकार्य परिचालन गर्दा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सकिने देखाएको छ ।
औषधि वितरणमा मात्र सीमित नरही परीक्षण, विशेषज्ञ परामर्श, घरमै स्वास्थ्य सेवा र दीर्घरोग व्यवस्थापनलाई समेत एउटै प्रणालीमा जोड्ने प्रयासले स्थानीय नागरिकको स्वास्थ्य खर्च घटाउन सहयोग पुगेको छ ।
प्रतिक्रिया तथा छलफल
यस समाचारबारे आफ्नो विचार साझा गर्नुहोस्।
पाठकका प्रतिक्रियाहरू
अहिलेसम्म कुनै स्वीकृत प्रतिक्रिया छैन।
पहिलो प्रतिक्रिया दिने व्यक्ति बन्नुहोस्।


