आइतबार बिहानै उत्तरी गोरखाको चुम्नुब्री क्षेत्रमा बुढीगण्डकीमा अचानक बाढी आयो। सुरुको अनुमानअनुसार उङ्गिलुङ खोलामा खसेको पहिरोले स्याङखोला थुनेको थियो। जम्मा भएको पानी र भग्नावशेष एकैपटक फुट्दा तल्लो बस्तीमा तबाही मच्चियो। स्थानीयका अनुसार खोला कम्तीमा छ पटक थुनिएर खुलेको थियो, र पानी १५ मिनेटजति बग्थ्यो। प्रारम्भिक विवरणमा ४५ घर पूर्ण र २७ घर आंशिक क्षति भएका छन्। दुई मोटरेबल पुल, दुई झोलुङ्गे पुल, तीन जलविद्युत् आयोजना र ३४ वटा गोठ पनि प्रभावित भएका छन्। प्रहरीका अनुसार चुम्नुब्री-६ का एकै समुदायका पाँच जना भेडा चराउन गएका बेला सम्पर्कविहीन भएका छन्। सेनाले चारवटा हेलिकप्टर लगाएर ९ जना विदेशीसहित ९५ जनालाई सुरक्षित स्थानमा पुर्‍यायो। मनास्लु संरक्षण क्षेत्र आयोजनाका अनुसार जगतमा करिब ११५ र लोकपामा ४० पर्यटक रोकिएका छन्। यो घटना २६ अगस्टको भोटेकोशी बाढीको दुई महिना नपुग्दै भएकाले नदी किनारका बस्तीको सुरक्षाबारे प्रश्न उठेको छ। बिभीन्न श्रोतका अनुसार स्थानीयहरूले आधिकारिक चेतावनीभन्दा करिब एक घण्टा अघि नै एकअर्कालाई सतर्क गराएका थिए।